इटहरी : ईटहरी मुख्य चोकमा भएको सवारी दुर्घटनामा परि स्कुटरमा सवार एकै परिवारका आमाछोरीको मृत्यु भएको छ ।३९ बर्षिय आमा सरिता चौधरी र २० बर्षिय अंशु चौधरीको मृत्यु भएको हो ।पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाईते भएकी सरिताको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरी डिएसपी माधब काफ्लेले जानकारी दिए ।
यस्तै छोरी अंशुको उपचारका क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो ।मंगलबार दिउँसो ३:३० बजे टिपरले स्कुटरमा सवार आमाछोरीलाई ठक्कर दिएको थियो ।
घटनापछि आक्रोसित आफन्त र स्थानीयले ढुङ्गामुडा गरेका थिए । ढुङ्गा मुडा प्रहार गर्दा इलाका प्रहरी कार्यालयका डिएसपी माधब काफ्ले सहित ९ जना घाइते भएका छन् ।
यस्तै सशस्त्र प्रहरी बलका ७ जना घाईते भएका छन् ।आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले ३४ थान अश्रुग्यास प्रहार गरेको थियो ।
आक्रोशित भिडले टिपरमाथी ढुङ्गा मुडा गरेका थिए भने चालकमाथि समेत हातपात गरेका थिए ।
टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ बर्षिय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैइरहेको छ ।