Categories
समाचार

गायक रविन तामाङकाे निधन

काठमाडौं । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका निधन भएको पुष्टि गरिन् ।

अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् ।

प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ-५ चिसेनीस्थित उनको घरमा पुगेको बताए ।

‘प्रहरीलाई मृतकको दिदीले खबर गर्नुभएको हो । तुरुन्तै घटनास्थलमा पुगेर दिदीकै आग्रहमा हामी घरभित्र पस्यौं । उहाँ मृत अवस्थामा भेटिनुभयो। शंकास्पद केही देखिँदैन । सामान्य अवस्था छ । घटनास्थल क्लिन देखिन्छ’ उनले भने । सबै प्रक्रिया पुर्‍याएर रविको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए ।

रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।

उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।

Categories
समाचार

बोक्सीको आरोपमा बारामा एकल महिलाको कपाल मुण्डन गरेर निर्घात कुटपिट

बारा । बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका २ श्रीनगर बैरियामा एकजना महिलामाथि निर्धात रुपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ ।

स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलाकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवा देबी लोहारिनलाई बोक्सी आरोपमा गयराति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन् ।

‘राति घरमा एक्लै बसेको बेलामा बोक्सी भन्दै घरभित्र पसेर एक्कासी कुटपिट गरेको पीडित लोहारिनले बताइन्। कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट बोहोरेकी लोहारिनको हाल कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

सोही साँझ घर नजिकैको धानखेतमा जादै गरेको अवस्थामा भोला र ओजिरले गाली गलौज गर्दै उनलाई कुटपिट गर्ने प्रयास गरेका थिए । ‘खेतमा पनि बोक्सी भन्दै आक्रमण गर्न खोजेका थिए । उनले भनिन्, ‘तर भागेर ज्यान जोगाए । पछि घरमै आएर कुटे ।’

यसअघि पनि उनीहरुले बोक्सी आरोपमा आफूलाई पटकपटक सार्वजनिक स्थलमा गालीबेइज्जत गर्दै आएको उनले बताइन् ।

बोक्सी आरोपमा महिलामाथि कुटपिट हुदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजिव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताए। अर्का आरोपी ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन । २ वर्षअघि पती रामाज्ञा ठाकुरको निधनपछि लोहारिन छोरा मिथिलेश शर्मासंगै घरमा बस्दै आएकी थिइन् ।

२० वर्षीय छोरा मिथिलेश पनि घटनाको समयमा घर बाहिर रहेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेको र घटनाको बारेमा थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको टोली हिजो दिउसो घटनास्थल पठाइएको जानकारी दिए ।

Categories
समाचार

अभिनेत्री पूजा शर्माले भनिन्- मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो हो

अभिनेत्री पूजा शर्मा यति बेला विवाहको कुरालाई लिएर चर्चामा छिन्।आगामी विजया दशमीमा उनले प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर बाहिरिएको छ। यसपटक कात्तिक ७ विजया दशमी परेको छ। तर उनले दसैंमा विवाह गर्ने तयारी नभएको बताइन्।

‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे हुन्छ र!,’ उनले सेतोपाटीसँग भनिन्।

पूजा आफ्नो प्रेमीसँग झम्सिखेलमा ‘ट्याग’ होटल सञ्चालनमा ल्याउने तयारीमा छिन्।

पूजा हाल फिल्म ‘दान्भी’ को छायांकनमा व्यस्त छिन्। उनी फिल्म ‘दान्भी’ मा एक्सन अवतारमा देखिने भएकी छन्। रूपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय रहनेछ।

उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन्। ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी’ जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्।

योसँगै उनी रेखा थापाको फिल्ममा पनि देखिनेछिन्।

Categories
समाचार

पोखराका इन्स्पेक्टरले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन समिति गठन

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ।

पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफूलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन्।

‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै उनले लेखेकी छिन्– ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’

उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफू ती महिला प्रहरीको शरीरको फ्यान भएको, फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज छन्।

ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ।

इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।

‘इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौं,’ एसपी केसीले भने, ‘छानबिनबाट दोषी देखिए कारबाही अघि बढ्छ।’

इन्स्पेक्टर तिमिल्सिनाले म्यासेज पठाएको भनिएको इन्स्टाग्राम अकाउन्ट उनको हो कि होइन भन्ने यकिन गर्न छानबिन समितिलाई निर्देशन दिएको उनले बताए। यसका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको छ।

यता, तिमिल्सिनाले पनि एसपी केसीलाई निवेदन दिएर उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको बताएका छन्।

‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ उनले निवेदनमा भनेका छन्।

Categories
समाचार

मेक्सिकोमा मेयरले गरे गोहीसँग बिहे !

नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ । मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन ।

तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् ।

मेक्सिकोको ओआक्साका राज्यस्थित सान पेद्रो हुआमेलुला सहरका मेयर ह्युगो सोसाले सात वर्षको गोहीसँग परम्परागत तरिकाले बिहे गरेका हुन् ।

सहरमा सुख तथा सम्मृद्धिका लागि भन्दै उनले गोहीसँग बिहे गरेको बताएका छन् ।

वास्तवमा उक्त सहरमा सुख र सम्मृद्धिका लागि गोहीसँग बिहे गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।

मेयर सोसाले बेहुली बनाएको आफ्नो गोहीलाई चुम्बन गरेको तस्वीर तथा भिडियोहरु सार्वजनिक भएका छन् । बेहुली गोहीको मुख भने बन्द गर्नका लागि बाँधिएको छ ।

सानी राजकुमारी नाम दिइएको उक्त बेहुली गोहीलाई सो सहरमा धर्तीमाताको प्रतिक मानिन्छ । सहरको राजनीतिक नेतृत्वसँग गोहीको बिहेलाई मानिस र ईश्वरको मिलनको रुपमा लिइन्छ ।

सहरका चोन्टल र हुआभे आदिवासी समुदायमा यस्तो गोहीसँग बिहे गर्ने परम्परा रहँदै आएको छ ।

गोहीसँग बिहे गरेपछि मेयर सोसाले पत्रकारहरुसँग कुराकानी गर्दै सो परम्परा दुई समुदायको संस्कृति बीचको मिलन भएको बताए ।

पछिल्लो २३० वर्षदेखि चल्दै आएको उक्त परम्परा अनुसार मेयरलाई चोन्टल समुदायको राजा मानिन्छ भने पोथी गोहीलाई हुआभे समुदायकी राजकुमारी मानिन्छ ।

ती दुई समुदायको मेलमिलापको प्रतिकको रुपमा सो विवाहलाई लिइन्छ ।

थप तस्वीरहरू :

बेहेका लागि सिंगारिएकी दुलही गोही ।

दुलही गोहीलाई सिंगार्ने तयारी ।

Categories
समाचार

धरानका मेयर हर्क साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डनकाे सम्मान , भन्छन ” काम गर्ने उर्जा थपिएकाे छ ”

धरान / धरान उप-महानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट वाहवाही पाएसंगै “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” ले समेत कदर गरेको छ।

मेयर हर्कराज राई ( हर्क साम्पाङ्ग)ले यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” ले उक्त कार्यको मान्यता सहित कदर गर्दै सम्मान गरेको छ।

शुक्रबार धरान उप-महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” का नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानब धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी ,गायक निर्णय श्रेष्ठ , सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्त रुपमा उक्त कदर पत्र हस्तान्तरण गरेका थिए।

“वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन “को कदरपत्र पाएपछि प्रफ्फुलित हुदै मेयर हर्क साम्पाङ्गले आफुले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मुल्यांकन हुँदा अझै काम गर्ने जोश थपिने बताउंदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए। “वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन ” का नेपाल प्रमुख सागर कटुवालले मेयर साम्पाङ्गको कार्यहरु नियालिरहेको र वहाँको प्रेरणादायी श्रमसंस्कृतिले धेरै नै प्रभाव पारेको बताए।